काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका श्रम तथा रोजगार कार्यालयहरूमा श्रम विभागले आकस्मिक अनुगमन गरेको छ ।
मन्त्रालय अन्तर्गतका पोखरा, नेपालगन्ज, बुटवल, धनुषा स्थित कार्यालयहरु र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र काठमाडौँले मङ्सिर ८ गते देशका विभिन्न २८ वटा प्रतिष्ठानहरूमा संयुक्त दैनिक श्रम निरीक्षण सम्पन्न गरेका छन्।
अनुगमनका क्रममा रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष SSF आबद्धता, श्रम अडिट, कार्य समय, ओभरटाइम तथा बिदाको अवस्था सम्बन्धी प्रावधानहरूको कार्यान्वयन स्थिति मूल्याङ्कन गरिएको थियो।
अनुगमनका क्रममा अधिकांश प्रतिष्ठानहरूमा श्रम कानुनको गम्भीर उल्लंघन भएको पाइएको छ। २४ वटा प्रतिष्ठानका कुल ३०० कर्मचारीमध्ये २६५ जना (करिब ८८ प्रतिशत) सामाजिक सुरक्षा कोष SSF मा आबद्ध नभएको पाइएको छ।
यसअन्तर्गत काठमाडौँका १२ प्रतिष्ठानका १७४ जना, पोखराका ६ प्रतिष्ठानका ४६ जना, बुटवलका ४ प्रतिष्ठानका ३२ जना र नेपालगन्जका २ होटेलका १३ जना कर्मचारी क्क्ँ को दायराभन्दा बाहिर रहेको देखिएको छ।
यसैगरी, ७ वटा प्रतिष्ठानका ३२ जना कर्मचारीसँग कुनै पनि प्रकारको रोजगार सम्झौता वा नियुक्ति पत्र नभएको पाइएको छ, जसमा काठमाडौँका ३ प्रतिष्ठानका ११ जना, नेपालगन्जका १३ जना र बुटवलका ८ जना रहेका छन्।
साथै पोखराका ६ वटा प्रतिष्ठानमा कार्यरत सम्पूर्ण ४६ जना कर्मचारीसँग पनि रोजगार सम्झौता नभएको पुष्टि भएको छ। श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समेत ठूलो कमजोरी देखिएको छ।
पोखराका ६ प्रतिष्ठान (४६ कर्मचारी), नेपालगन्जका २ होटेल (१३ कर्मचारी) र बुटवलका २ होटेल (८ कर्मचारी) गरी १० वटा प्रतिष्ठानका कुल ६७ जना श्रमिकले नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक पाएका छैनन्।
पोखराका ६ वटा प्रतिष्ठानका ४६ कर्मचारी ओभरटाइम र नियमानुसार पाउनुपर्ने बिदाको सुविधाबाट समेत वञ्चित रहेको निरीक्षणमा खुलेको छ। त्यस्तै, नियमअनुसार बुझाउनुपर्ने श्रम अडिट पेस नगर्ने प्रतिष्ठानहरूको संख्या पनि उल्लेख्य छ।
काठमाडौँका ३ (१६ कर्मचारी), पोखराका ६ (४६ कर्मचारी), नेपालगन्जका ३ (४० कर्मचारी) र धनुषाको १ प्रतिष्ठान (६५ कर्मचारी) गरी कुल १३ प्रतिष्ठानले श्रम अडिट पेस गरेका छैनन्।
निरीक्षण पश्चात् अनुगमन टोलीले सम्बन्धित सबै प्रतिष्ठानहरूलाई तत्काल श्रम ऐन बमोजिम अनिवार्य रोजगार सम्झौता गर्न, सरकारले तोकेको न्यूनतम पारिश्रमिक भुक्तानी गर्न, सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष SSF मा आबद्ध गराउन, नियमानुसार अतिरिक्त समयको पारिश्रमिक तथा बिदा सुविधा दिन र माग गरिएका श्रम अडिट लगायतका विवरण तोकिएको समयभित्रै पेस गर्न कडा निर्देशन दिएको छ।



