काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयको सभाहलमा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति MDAC को बैठक तथा आर्थिक वर्ष २०८३/०८४ को प्रथम त्रैमासिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा मन्त्रालय र अन्तर्गतका निकायहरूले पहिलो त्रैमासिकमा गरेका काम, देखापरेका समस्या तथा समाधानका उपायहरूबारे विस्तृत छलफल भएको छ।
बैठकलाई सम्बोधन गर्दै मन्त्री रामजी यादवले मन्त्रालय अन्तर्गतका सबै निकायलाई तोकिएको जिम्मेवारी र स्वीकृत कार्यक्रमहरू तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिए ।
उनले सरकारी सेवा प्रवाहमा जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी सुधार ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नयाँ सोच र नवीन शैलीबाट समस्या समाधान गर्दै कार्यसम्पादन गर्न सुझाव दिए ।
नीतिगत समस्याहरू सुल्झाउन आयोगको तर्फबाट पूर्ण सहयोग र समन्वय रहने प्रतिबद्धता समेत उनले जनाए । यसैगरी, मन्त्रालयका सचिव डा.दीपक काफ्लेले पहिलो त्रैमासिकमा देखापरेका कमजोरीहरूलाई तत्काल सुधार गरी वार्षिक लक्ष्य हासिल गर्ने गरी काम गर्न निर्देशन दिए ।
सचिव काफ्लेले जनताका गुनासाहरूको शीघ्र सम्बोधन गर्न र बाँकी रहेका बेरुजुहरू नियमसङ्गत ढङ्गले फर्छ्यौट गर्न सबै निकायलाई विशेष आग्रह गरे।



