वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्किएका जंगली जनावरले मानवबस्तीमा पुर्याएको क्षतिको राहतस्वरूप निकुञ्जले गत आर्थिक वर्ष २०८२/०८३ मा २६ लाख ५८ हजार ४६८ रुपैयाँ वितरण गरेको छ।
वन्यजन्तुबाट भएको क्षतिको राहत निर्देशिका २०८० बमोजिम दर्ता भएका निवेदनका आधारमा निकुञ्ज कार्यालयले पीडितलाई उक्त रकम उपलब्ध गराएको सहायक संरक्षण अधिकृत मनोज मण्डलले जानकारी दिए।
वितरित राहत रकममध्ये सबैभन्दा ठूलो हिस्सा अन्नबालीको क्षतिमा खर्च भएको छ। निकुञ्जको तथ्यांकअनुसार अन्नबाली क्षतिका १८७ घटनामा १६ लाख ८२ हजार रुपैयाँ राहत प्रदान गरिएको छ।
तीमध्ये जंगली हात्तीले अन्नबालीमा पुर्याएको क्षतिमा मात्रै ९ लाख १६ हजार ४३८ रुपैयाँ राहत दिइएको छ। दोस्रो स्थानमा रहेको पशुधन क्षतिका ६० घटनामा ६ लाख ५७ हजार ५०० रुपैयाँ वितरण गरिएको छ। राहत निर्देशिकाअनुसार बाख्राको क्षतिमा १० हजार रुपैयाँ र गाईभैंसीको क्षतिमा ६० हजार रुपैयाँ राहत दिने व्यवस्था छ।
त्यसैगरी जंगली बँदेलबाट भएका ७८ घटनामा ५ लाख ९१ हजार रुपैयाँ र चितुवाबाट भएका ५० घटनामा ५ लाख ३४ हजार ५०० रुपैयाँ राहत वितरण गरिएको छ।
मानवीय क्षतितर्फ सख्त घाइते भएका दुई जनालाई २ लाख ५९ हजार ९६८ रुपैयाँ तथा सामान्य घाइते भएका एक जनालाई २० हजार रुपैयाँ प्रदान गरिएको सहायक संरक्षण अधिकृत मण्डलले बताए।
निकुञ्जका अनुसार अन्न भण्डार क्षतिका दुई घटनामा १९ हजार रुपैयाँ, घरगोठ क्षतिका दुई घटनामा २० हजार रुपैयाँ र अजिंगरले कुखुरा मारेको घटनामा ६ हजार रुपैयाँ राहत वितरण गरिएको छ।
साथै बाघबाट भएका १० घटनामा १ लाख २३ हजार रुपैयाँ, गैंडाबाट भएका दुई घटनामा १० हजार रुपैयाँ, भालूको एउटा घटनामा ६५ हजार ५३० रुपैयाँ, निलगाईबाट भएका २६ घटनामा २ लाख ३२ हजार रुपैयाँ र बाँदरबाट भएका १८ घटनामा १ लाख ७० हजार रुपैयाँ राहत दिइएको तथ्यांकमा उल्लेख छ।
यसैबीच निकुञ्जले चालू आर्थिक वर्षको कार्तिक मसान्तसम्मको चार महिनामा ६ लाख ४ हजार रुपैयाँ राहत वितरण गरिसकेको छ। जसमा अन्नबाली क्षतितर्फ ४ लाख २८ हजार रुपैयाँ, पशुधन क्षतितर्फ १ लाख १७ हजार रुपैयाँ र घरगोठ क्षतितर्फ ५९ हजार रुपैयाँ रहेको निकुञ्ज कार्यालयले जनाएको छ।



