जनकपुरधाम । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले भारतको अयोध्याबाट छुटेको ‘सरयू–कमला एक्सप्रेस’ रेल जनकपुरधाम आइपुगेको दिनलाई जनकपुरधामका लागि ऐतिहासिक दिन भएको बताएका छन् ।
रेललाई स्वागत गर्न आयोजित स्वागत समारोहमा सम्बोधन गर्दै मन्त्री यादवले केवल एउटा रेलगाडीको नभई दुवै देशको साझा इतिहास, साझा संस्कृति र जनस्तरको आत्मीय सम्बन्धको नयाँ यात्राको स्वागत गरिएको उल्लेख गरे ।
मंगलबार जनकपुरधाम आइपुगेको यो रेल सेवाको सोमबार भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शुभारम्भ गरेका थिए ।
मन्त्री यादवले राम–जानकीको प्रसङ्ग जोड्दै अयोध्या र जनकपुरबिचको सम्बन्ध दुई सहरको मात्र नभई छोरी–ज्वाइँ, परिवार र अगाध आस्थाको सम्बन्ध रहेको स्पष्ट पारे ।
‘अयोध्यामा रामको मर्यादा र जनकपुरमा जानकीको गरिमाले नेपाल–भारत मैत्रीको नयाँ इतिहास लेखिरहेको छ’ उनले भने , यही महिनाको अन्त्यमा जनकपुरधाममा आयोजना हुने विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट आउने श्रद्धालु तथा भक्तजनहरूका लागि रेल सेवाले यात्रालाई अझ सहज र सुगम बनाउने उनको भनाइ थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटनका क्रममा राम–जानकीको युगौँ पुरानो सम्बन्धलाई नयाँ पुस्ताका लागि विकास र साझेदारीको अवसरमा बदल्नुपर्नेमा जोड दिएको मन्त्री यादवले स्मरण गराए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘नेपालबिना हाम्रा धाम र राम दुवै अधुरा छन्’ भन्ने भनाइ उद्धृत गर्दै मन्त्री यादवले सरयू–कमला एक्सप्रेसमार्फत यो सम्बन्धले थप नयाँ आयाम पाउने विश्वास व्यक्त गरे ।
ऐतिहासिक पहलका लागि उनले दुवै देशका प्रधानमन्त्री, सरकार, भारतीय रेल मन्त्रालय, नेपालको पूर्वाधार विकास मन्त्रालय तथा संलग्न सबै निकायप्रति धन्यवाद ज्ञापन गरे ।



