वीरगन्ज । वीरगन्ज–पथलैया औद्योगिक करिडोरका चार उद्योग उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व विभागले विभिन्न विधामा सर्वाधिक कर तिर्ने उत्कृष्ट करदाताहरूलाई सम्मान गर्ने क्रममा वीरगन्ज–पथलैया औद्योगिक करिडोरका चार उद्योग उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका हुन् ।
मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा बाराको सिमरा स्थित सूर्य नेपाल प्रा. लि. संस्थागत तर्फ नेपालकै सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ। वस्तु निर्यात तर्फ डाबर नेपाल प्रा. लि. सम्मानित भएको छ ।
कृषि तथा पशुजन्य उद्योग तर्फ ओ। सि। बी। फुड्स एण्ड फिड्स प्रा. लि. र वेभरेजतर्फ हिमालयन डिष्टिलरी उत्कृष्ट करदाताको रुपमा सम्मानि भएको छ । यी सबै उद्योगहरु वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा स्थापित उद्योगहरु हुन् ।
विभागले विधागत रूपमा पनि विभिन्न क्षेत्रका उत्कृष्ट योगदानकर्ताहरूलाई सम्मान पत्र प्रदान गरेको छ। जसमा बैंक तथा वित्तीय संस्था तर्फ नबिल बैंक, रेमिट्यान्स तथा विप्रेषण तर्फ आई.एम.ई. लिमिटेड, सूचना प्रविधि (आईटी) निर्यात क्षेत्रबाट इन्फाइनाइट सफ्टवेयर सर्भिस नेपाल, र धितोपत्र कारोबार (ब्रोकर) तर्फ इम्पेरियल सेक्युरिटिज कम्पनी सम्मानित भएका छन्।
व्यक्तिगत तर्फ भने राजबहादुर शाह सर्वोच्च करदाता बनेका छन्। यसका साथै उर्जा, उत्पादन, पर्यटन, पूर्वाधार, व्यापार तथा अन्य सेवा प्रदायक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने भोटेकोशी पावर कम्पनी प्रा.लि, थर्ड आई इन्टरनेशनल, वरूण बेभरेज नेपाल,
नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), सोल्टी होटल लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सी. जी. इम्पेक्स प्रा.लि., छिमेक लघुवित्त, र फुड एण्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रा. लि. समेत सम्मान तथा चर्चाको सूचीमा परेका छन्।



