काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष थापाले अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
शपथ ग्रहणपछि अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बीमा क्षेत्रको पहुँच र सुदृढीकरण वृद्धिका लागि कुनै पनि हिचकिचाहटबिना निडर र निर्धक्क भएर काम गर्न निर्देशनात्मक सुझाव दिएका छन् ।

