वीरगन्ज । वीरगञ्ज महानगरपालिकाको आगामी नेतृत्वलाई लिएर सामाजिक सञ्जाल र स्थानीय तहमा विभिन्न कोणबाट बहस सुरु भइरहेका बेला एक फरक दृश्य सतहमा आएको छ।
परम्परागत राजनीतिक अनुहारभन्दा बाहिर गएर विकास व्यवस्थापन, वातावरण तथा प्राविधिक क्षेत्रमा लामो अनुभव सँगालेका इन्जिनियर मनोजकुमार गुप्ताको नाम अहिले वीरगञ्जको नगर प्रमुख (मेयर) का रूपमा चर्चामा आएको छ।
स्थानीय बौद्धिक वर्ग, प्राविधिक, उद्योगी तथा विभिन्न पेशागत क्षेत्रका व्यक्तिहरूले गुप्तालाई महानगरको नेतृत्व लिन खुला आह्वान गरेका छन्।
वीरगञ्जको आर्थिक तथा औद्योगिक सम्भावनालाई कागजी योजनामा मात्र सीमित नराखी व्यावहारिक विकासमा ढाल्न, वर्षौँदेखि बल्झिरहेका सहरी समस्या सुल्झाउन र सार्वजनिक सेवालाई प्रविधिमैत्री बनाउन प्राविधिक ज्ञान भएको नेतृत्व आवश्यक रहेको उनीहरूको तर्क छ।
गुप्ताको मुख्य सबल पक्ष उनका विगतका काम र अन्तर्राष्ट्रिय अनुभवलाई मानिएको छ। विश्व बैंक र संयुक्त राष्ट्र संघसम्बद्ध आयोजनाहरूमा १७ वर्षभन्दा बढी काम गरिसकेका गुप्तासँग विकास व्यवस्थापन, नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन र ठूला परियोजना सञ्चालनको व्यावहारिक अनुभव छ। उनले रुस, भारत र बेलायतका कूटनीतिक नियोगहरूसँग समेत व्यावसायिक तथा प्राविधिक समन्वय गरिसकेका छन्।
गुप्ताको यो व्यावसायिक छविलाई विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले समेत सकारात्मक रूपमा लिएका छन्। नेपाली कांग्रेस निकट श्याम पोखरेल गुप्ताको प्रवेशले वीरगञ्जमा व्यक्ति केन्द्रित राजनीतिभन्दा विकासकेन्द्रित फरक बहस सुरु हुने विश्वास व्यक्त गर्छन्।
त्यसैगरी समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव गुप्ताले गरिबी निवारण कोषको परियोजना प्रमुख रहँदा जगरनाथपुरमा स्थानीय स्रोत र प्रविधिको प्रयोग गरी ग्यासिफायर प्लान्ट सञ्चालन गरेको र न्यून आय भएका नागरिकको जीवनस्तर उकास्न भूमिका खेलेको स्मरण गर्छन्।
नेकपा एमालेका नेता ज्वाला साह गुप्ताको सोचलाई स्थानीय स्रोतमा आधारित उद्योगसँग जोड्छन्। गोबरबाट बायोग्यास, कृषि र औद्योगिक फोहोरबाट बायो-पेन्ट, हस्क पेलेट जस्ता उत्पादनमार्फत रोजगारी सिर्जना गर्ने गुप्ताको विगतको प्रयासलाई महानगरको समृद्धिसँग जोड्न सकिने साहको भनाइ छ।
यस्तै, पत्रकार छट्ठु साह गुप्ताले पर्सामा काम गर्दा देखाएको समुदाय परिचालनको शैली पृथक रहेको बताउँछन्। औपचारिक स्वागतमा खादा र मालाको सट्टा राष्ट्रिय गान बजाउने अभ्यास, बर(पीपलका बिरुवा रोप्ने अभियान र सर्पदंशबाट प्रभावित परिवारलाई रोजगारीमा जोड्ने जस्ता सामाजिक कार्यले उनको फरक शैली उजागर गर्छ।
यता गुप्ता स्वयं भने वीरगञ्जलाई केवल ठूला भवन र सडक निर्माणमा मात्र सीमित राख्न नहुने तर्क गर्छन्। उनी भन्छन्, ‘सफा सडक, ढल र वर्षायामको डुबान नियन्त्रण, वैज्ञानिक फोहोर व्यवस्थापन, सहज सार्वजनिक यातायात, गुणस्तरीय शिक्षा-स्वास्थ्य र डिजिटल नागरिक सेवा नै वास्तविक विकासका सूचक हुन्।’
फोहोर व्यवस्थापनमा परम्परागत सरसफाइभन्दा माथि उठेर घरबाटै वर्गीकरण, पुनःप्रयोग र प्रशोधनसहितको एकीकृत प्रणाली लागू गर्नुपर्ने उनको प्रस्ताव छ। डुबान समस्या समाधानका लागि पनि सडक र ढल छुट्टाछुट्टै बनाउनुको साटो समग्र जलनिकास प्रणालीको दीर्घकालीन गुरुयोजना बनाउनुपर्ने उनी बताउँछन्।
आफ्नो वैचारिक स्पष्टता प्रस्तुत गर्दै गुप्ता भन्छन्, ‘म मेयर बन्न भन्दा पनि जिम्मेवारी लिन चाहन्छु।’ उनले नगर प्रमुख बन्ने व्यक्तिले पहिलो १०० दिन, पहिलो वर्ष र पाँच वर्षको समयसीमासहितको स्पष्ट कार्ययोजना नागरिकसमक्ष राख्नुपर्ने बताएका छन्।
युक्रेनबाट (एप्लाइड इकोलोजी) मा उच्च शिक्षा हासिल गरेका र महेन्द्र विद्याभूषण तथा विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित गुप्ताको प्राविधिक पृष्ठभूमिले वीरगञ्जको आगामी राजनीतिमा नीतिगत र विकासकेन्द्रित बहसको नयाँ तरङ्ग सिर्जना गरिदिएको छ।
यद्यपि, बौद्धिक र पेशागत वृत्तबाट जोडदार माग उठे पनि गुप्ताले नगर प्रमुखको उम्मेदवारीबारे औपचारिक घोषणा गरिसकेका छैनन्। राजनीतिक दलीय समीकरण, चुनावी रणनीति र आगामी दिनमा हुने सहमतिले नै उनको उम्मेदवारीको अन्तिम रूप तय गर्नेछ, तर उनको नामले वीरगञ्जको राजनीतिमा एउटा फरक र सकारात्मक तरंग भने पक्कै ल्याएको छ।

