रौतहट । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री माननीय फकिरा महतो सहित सुरक्षा निकाय र स्थानीय तहका उच्चपदस्थ अधिकारीहरूको संयुक्त टोलीले रौतहटस्थित लाल बकैया नदीले गरेको कटान क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
निरीक्षण टोलीमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो, नेपाली सेनाका पृतनापति, सशस्त्र प्रहरी बल (APF) का प्रहरी नायब महानिरीक्षक (DIG), नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (DIG), राष्ट्रिय अनुसन्धान विभाग (NID) का DIG र मौलापुर नगरपालिकाका नगरप्रमुखको उपस्थिति रहेको थियो।
टोलीले लाल बकैया नदीको कटानबाट प्रभावित क्षेत्रको अवस्था, यसले बस्ती तथा खेतीयोग्य जमिनमा पुर्याएको क्षति र जोखिमको प्रत्यक्ष अवलोकन गरेको छ।
निरीक्षणका क्रममा स्थानीयवासीले नदी कटानका कारण वर्षेनि भोग्नुपरेको समस्या र जोखिमबारे टोलीलाई जानकारी गराएका थिए।
स्थलगत अनुगमनपछि गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले कटान नियन्त्रण तथा सम्भावित क्षति न्यूनीकरणका लागि प्रदेश सरकारका तर्फबाट तत्काल आवश्यक पहल र स्रोतसाधन व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिहरूले पनि विपद् व्यवस्थापन र नदी नियन्त्रणका अल्पकालीन तथा दीर्घकालीन योजना निर्माण गरी प्रभावकारी रूपमा अघि बढ्ने बताएका छन्।

