वीरगंज । वीरगंज महानगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा असोज ९ गते शुक्रबार पठनपाठन बन्द गरिने भएको छ।
वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले बिहीबार सूचना जारी गर्दै प्रतिकूल मौसम तथा वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालयमा पठनपाठन बन्द गर्ने जनाएको हो।
शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राप्त पत्रअनुसार नेपालका विभिन्न स्थानमा भारी वर्षा, हावाहुरी तथा चट्याङको सम्भावना रहेकाले विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई प्राथमिकतामा राख्दै पठनपाठन बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
वीरगंजमा समेत वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमबाट जोगिन सावधानी अपनाउन महानगरपालिकाले आग्रह गरेको छ।
महानगर प्रमुख राजेशमान सिंहले वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्यार्थी, अभिभावक तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
उनले अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान र मौसमको अवस्थाबारे जानकारी लिएर सुरक्षित रहन आग्रह गरेका हुन्।
महानगरपालिकाले विपद्को अवस्था सिर्जना भएमा विद्यालयका भवनहरुलाई सुरक्षित रूपमा आश्रयस्थलका रुपमा प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राख्नसमेत विद्यालय प्रशासनलाई निर्देशन दिएको छ।

