वीरगञ्ज । असोज ९ गते शुक्रबारदेखि आइतबारसम्म पर्न सक्ने अति भारी वर्षा, बाढी तथा डुबानको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पर्सामा जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गृह मन्त्रालयको निर्देशन र मौसम पूर्वानुमान महाशाखाको विशेष बुलेटिन अनुसार ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ तत्काल लागू गर्ने निर्णय गरेको हो।
अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन अपिलमौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित अति भारी वर्षाको प्रक्षेपण गरेपछि जिल्ला प्रशासनले सम्पूर्ण सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
विशेष गरी नदीतटीय क्षेत्र तथा तल्लो डुबान सम्भावित बस्तीहरूमा स्थानीय तह, सुरक्षा निकाय र स्थानीय एफ।एम। रेडियो तथा माइकिङमार्फत पूर्वसूचना र सुरक्षा एडभाइजरी प्रवाह गरिने भएको छ। जोखिम अवधिभर सर्वसाधारणलाई अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरिएको छ।
सुरक्षा निकाय २४ सै घण्टा ‘अलर्ट,’ उद्धार टोली तयार बाढी र डुबानको अवस्था आएमा तत्काल उद्धार कार्यमा खटिनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उद्धार टोलीहरूलाई रबर बोट र लाइफ ज्याकेटसहित २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ।
साथै जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई पूर्ण रूपमा सक्रिय बनाइएको छ। संवेदनशील वर्गलाई सुरक्षित आश्रयस्थलमा सारिनेस्थानीय तहहरूसँगको समन्वयमा जोखिमयुक्त बस्तीका महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखी सुरक्षित आश्रयस्थल (सामुदायिक भवन, विद्यालय तथा आवास क्षेत्र) मा स्थानान्तरण गर्ने प्रबन्ध मिलाइने निर्णय भएको छ।
अस्पताल र सडक टोली हाई अलर्टमास्वास्थ्य संकट पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै वीरगञ्जस्थित नारायणी अस्पताल, निजी अस्पताल, नर्सिङ होम र स्वास्थ्य केन्द्रहरूका आकस्मिक कक्ष, औषधि र चिकित्सकहरूलाई तयारी अवस्थामा राखिएको छ।
एम्बुलेन्स सेवालाई समेत तयारी हालतमा राख्न स्वास्थ्य कार्यालय पर्सालाई निर्देशन दिइएको छ। त्यस्तै, मुख्य सडक तथा हुलाकी राजमार्ग अवरुद्ध भएमा तत्काल बाटो खुलाउन जेसीबी लगायतका हेभी इक्युपमेन्टहरू तयारी अवस्थामा राख्न डिभिजन सडक कार्यालय र स्थानीय तहलाई निर्देशन दिइएको छ।
कार्यालय प्रमुखहरूलाई जिल्ला छाड्न र बिदा बस्न रोकविपद्को समयमा तत्काल निर्णय र समन्वय गर्नुपर्ने भएकाले पर्सा जिल्ला भित्रका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कार्यालय प्रमुखहरूलाई जोखिम अवधिभर बिदामा नबस्न र जिल्ला नछाड्न कडा निर्देशन दिइएको छ।
काबु बाहिरको परिस्थिति परी जिल्ला छाड्नुपरेमा अनिवार्य रूपमा प्रमुख जिल्ला अधिकारीलाई पूर्वजानकारी गराउनुपर्नेछ। सबै सरकारी कार्यालयहरूलाई आफ्ना महत्वपूर्ण कागजात, सवारी साधन र विद्युतीय उपकरणहरू सुरक्षित स्थानमा राख्न र चट्याङ र सर्ट–सर्किटबाट बचाउन काम नभएको बेला विद्युतीय उपकरण बन्द राख्न समेत सूचित गरिएको छ।

