काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ।
प्राधिकरणको प्रणाली सञ्चालन विभाग भार प्रेषण केन्द्र स्युचाटारले सार्वजनिक गरेको विवरण अनुसार उक्त अवधिमा कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् बिक्री भएको हो।
नेपालले द्विपक्षीय सम्झौता मार्फत भारतका हरियाणा तथा बिहार राज्य र बंगलादेशका साथै खुला विद्युत् बजार गरी दुई माध्यमबाट विद्युत् निर्यात गर्दै आएको छ।
उक्त अवधिमा द्विपक्षीय सम्झौता मार्फत ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात भई ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी भएको छ।
त्यसैगरी विद्युत् बजार मार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् बिक्री भई १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ आर्जन भएको छ।
भदौ महिनामा भएको कुल निर्यातमा द्विपक्षीय सम्झौताको हिस्सा सबैभन्दा बढी रहेको छ भने खुला बजारमार्फत पनि उल्लेख्य आम्दानी भएको छ।
यसैबीच भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात भने पूर्ण रूपमा ठप्प बनेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार अन्य जलविद्युत् आयोजनाहरूबाट बंगलादेशमा विद्युत् पठाउन आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिसकिएको छ।
प्राधिकरणले आगामी दिनमा अन्तरदेशीय विद्युत् व्यापारलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ।

