वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता जालिम मियाँका जेठा छोरा ४६ वर्षीय नासिर अहमदलाई ज्यानसम्बन्धी तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार शुक्रबार साँझ वीरगन्ज महानगरपालिका–१३ मुर्लीबाट नासिरलाई पक्राउ गरिएको हो।
२०७८ साल असोज २१ गते जालिमका कान्छा छोरा जाफिर अहमदकी अविवाहित सालीको शंकास्पद अवस्थामा मृत्यु भएको थियो।
जबरजस्ती करणीपछि अत्यधिक रक्तश्राव भई स्थानीय क्लिनिकमा उपचारका क्रममा ज्यान गुमाएकी उनको शव प्रहरीलाई खबर नगरी वीरगन्ज–१३ स्थित कब्रस्तानमा गुपचुप गाड्ने प्रयास भइरहेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो।
उक्त घटनामा नासिर र जाफिरसहितका व्यक्तिहरू संलग्न रहेको आरोप लागे पनि तत्कालीन समयमा राजनीतिक पहुँच र दबाबका कारण अनुसन्धान अघि नबढेको दाबी गरिएको थियो।
करिब पाँच वर्षपछि प्रहरीले मुद्दाको अनुसन्धान प्रक्रिया तीव्र पार्दै नासिरलाई पक्राउ गरेको छ भने घटनामा संलग्न अन्य फरार आरोपितहरूको खोजी कार्य जारी राखेको छ।

