जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–६, तीनकोरियाबाट १२ दिनअघि हराएका १५ महिनाका बालक सिधान्त महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सकुशल उद्धार गरेको छ।
अपहरणमा संलग्न ४१ वर्षीया पुनिता देवी पासवानलाई प्रहरीले भारततर्फ भाग्दै गरेको अवस्थामा सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको छ।
स्थानीय कमलेश महतोका छोरा सिधान्त भदौ १८ गते बेलुकी करिब ४:४० बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए।
प्रहरी चौकी गिद्धामा सूचना प्राप्त हुनासाथ प्रहरी उपरीक्षक रुपेश खड्काको कमाण्डमा ६० जनाको टोली तथा तालिमप्राप्त कुकुरसहित घटनास्थल र आसपासका क्षेत्रमा व्यापक खोजतलास सुरु गरिएको थियो।
अनुसन्धानका क्रममा प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल र मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ्ग नेतृत्वको प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूहको संयुक्त टोलीले कमला नगरपालिका–९, हथलेट्वाकी पुनिता देवी पासवानले बालकको अपहरण गरेको र उनलाई नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाउँदै राखेको पत्ता लगाएको थियो।
प्रहरीले जिल्लाका सबै नाकामा २४ सै घण्टा टोली परिचालन गरी प्राविधिक अनुसन्धानका आधारमा घेराबन्दी गरेपछि आरोपीले भदौ २९ गते दिउँसो ३स्३५ बजे बालकलाई उनको घरभन्दा ३०० मिटर टाढा सडक छेउमा छाडेर भागेकी थिइन्।
प्रहरीले बालकलाई तत्कालै उद्धार गरी स्वास्थ्य परीक्षण गराई परिवारको जिम्मा लगाएको छ। बालकको स्वास्थ्य अवस्था सामान्य रहेको छ। बालकलाई छाडेर भागिरहेकी पासवानलाई प्रहरी टोलीले सोही दिन दिउँसो ३स्४५ बजे विदेह नगरपालिका–१, महिनातपुरस्थित दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन र ओसारपसार सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

