काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परेर कैलाश मानसरोवर र गोसाइँकुण्ड भ्रमणमा रहेका ३४ देशका ६०७ विदेशीसहित कुल ७९५ जना पर्यटक र सहयोगी बेपत्ता भएका छन्।
पर्यटन विभागका अनुसार बेपत्ता विदेशीहरूमा सबैभन्दा बढी भारतका १८९ जना रहेका छन् भने अमेरिकाका ६५, मलेसियाका ५५ र युक्रेनका ५४ जनासहित अन्य विभिन्न देशका नागरिकहरू रहेका छन्।
विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ जनाको लिङ्ग खुलेको छैन। त्यसैगरी, पर्यटकका सहयोगी तथा तीर्थयात्रीका रूपमा पुगेका १६१ पुरुष र २७ महिला गरी १८८ जना नेपाली नागरिकसमेत सम्पर्कविहीन भएका छन्।
विपदका बीच सुरक्षा निकाय र स्थानीय प्रशासनले तीव्र बनाएको उद्धार कार्यमार्फत हालसम्म २५८ पुरुष र ५२ महिला गरी ३१० जना विदेशी पर्यटकको सफल उद्धार गरिएको छ भने अन्य १३ जना आफैँ सम्पर्कमा आएका छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताहरूको खोजी, उद्धार र राहत कार्यलाई निरन्तरता दिइएको छ।

