वीरगञ्ज। नेपाली कम्युनिष्ट (नेकपा) पार्टीबाट गरिएको कारबाहीप्रति असन्तुष्टि जनाउँदै नेता रामबाबु बैठाले आफ्नो पक्ष स्पष्ट पारेका छन्।
कारवाही गरेको समाचार सहित सामाजिक सञ्जालमा पोष्ट गर्दै बैठाले मधेश प्रदेश इन्चार्ज कमरेड महेन्द्र राय यादवको विशेष उपस्थितिमा बसेको बैठकमा आफूले पार्टीलाई सुदृढ बनाउनका लागि नीतिगत र संरचनागत विषयहरू उठाएको दाबी गरेका छन्।
नेता बैठाका अनुसार उक्त बैठकमा उनले पार्टी विधि र पद्धति अनुसार नचलेको, मधेश प्रदेशमा कार्यविभाजन गर्दा समानुपातिक तथा समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई ध्यान नदिइएको र पर्सा जिल्लामा कार्यविभाजन गर्दा सबै घटकहरूलाई समेट्न नसकिएको विषय गम्भीरताका साथ उठाएका थिए।
साथै, प्रदेश नेतृत्वले खुल्ला रूपमा गुटबन्दी गरिरहेको आरोप लगाउँदै उनले पार्टी कसरी निर्माण गर्ने भन्नेबारे स्पष्ट धारणा राखेको बताएका छन्।
आफूमाथि भएको कारबाहीबारे प्रतिक्रिया दिँदै उनले भने, ‘पार्टीको बैठकमा संगठन निर्माण, समावेशिता र गुटबन्दी विरुद्ध आफ्नो विचार राख्दा कारबाही भोग्नुपर्ने ? के पार्टी बैठकमा आफ्ना कुराहरू राख्नै नपाउने हो र ? हामी आखिर कस्तो पार्टी निर्माण गर्न खोजिरहेका छौं ?’
आफ्नो धारणा स्पष्ट पार्दै उनले पार्टीलाई विधिविधान अनुसार सञ्चालन गर्न र गुटबन्दी अन्त्य गरी समावेशी आधारमा अगाडि बढाउनुपर्नेमा पुनः जोड दिएका छन्।

