काठमाडौँ । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि अमेरिकी परोपकारी संस्था ‘सामारिटन्स पर्स’ (Samaritan’s Purse) बाट पठाएको ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री काठमाडौँ आइपुगेको छ।
यो सामग्रीले बाढी प्रभावित क्षेत्रका करिब २,६०० परिवारलाई प्रत्यक्ष सहयोग पुग्नेछ। राहत सामग्रीमा खानेपानी शुद्धीकरण गर्ने फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट र सोलार बत्तीहरू समावेश छन्।
काठमाडौँ आइपुगेका यी सामग्रीहरूलाई मैदानमा खटिएका स्थानीय संघ-संस्थाहरूमार्फत प्रभावित क्षेत्रका परिवारसम्म तुरुन्तै वितरण गरिनेछ।
नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकार तथा विभिन्न साझेदार निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ। नेपालको आवश्यकता अनुसार जीवनरक्षक सहयोग सहि तरिकाले पुऱ्याउन यो समन्वय भइरहेको दूतावासले जनाएको छ।

