काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा एक सातादेखि सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनसँग भेट गरी उद्धार तथा खोजी कार्यमा राज्यले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले सरकार यो कठिन र पीडादायी घडीमा पूर्ण रूपमा उनीहरुको साथमा रहेको बताए । लामो समयसम्म आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले राष्ट्रसेवकको अत्तोपत्तो नहुँदा सरकार पनि उत्तिकै मर्माहत बनेको बताए ।
‘हरेक नागरिकको जीवन अमूल्य छ। एउटा पनि जीवनको खोजीका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, आधुनिक प्रविधि र उपलब्ध स्रोत साधन पूर्ण रूपमा परिचालन गरिएको छ,’ मन्त्री श्रेष्ठले भने ।
एक साता बितिसक्दा पनि सोचेजस्तो नतिजा नआउँदा चिन्ता थपिए पनि खोजी कार्य निरन्तर जारी रहने उहाँको भनाइ थियो। सरकारले अन्तिम सम्भावनासम्म प्रयास जारी राख्ने आश्वासन दिँदै मन्त्री श्रेष्ठले परिवारलाई धैर्य नगुमाउन र आशा जीवितै राख्न आग्रह गरे ।
कठिन परिस्थितिमा परिवारलाई एक्लो महसुस हुन नदिइने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो।भेटका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले नागरिकको जीवन रक्षा गर्नु सरकारको प्राथमिकता भएकाले अन्तर–निकाय समन्वयमार्फत सम्पूर्ण उपाय प्रयोग गरी उद्धार कार्य भइरहेको बताए ।
त्यसैगरी नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा चिलिमे जलविद्युत् कम्पनीका अध्यक्ष दीर्घायू कुमार श्रेष्ठले हालसम्म भए । गरेका खोजी कार्यको प्रगतिबारे परिवारलाई जानकारी गराए। उनले कम्पनीका तर्फबाट खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउन आवश्यक सबै कदम चालिएको स्पष्ट पारे ।

