वीरगन्ज । अग्रगामी मोर्चाको पर्सा जिल्ला स्तरीय (सात दलीय) बैठक बहुजन एकता पार्टीका पर्सा जिल्ला इन्चार्ज सन्तोष रामको अध्यक्षतामा वीरगन्जमा सम्पन्न भएको छ।
बैठकले मोर्चालाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।
बैठकले मोर्चामा आबद्ध प्रत्येक घटक दलबाट समावेशी सिद्धान्तका आधारमा तीन-तीन जना प्रतिनिधि रहने गरी २१ सदस्यीय जिल्ला स्तरीय अग्रगामी मोर्चा गठन गर्ने निर्णय गरेको छ।
मोर्चालाई जिल्लामा थप सशक्त, समावेशी र जनमुखी बनाउँदै अघि बढाउने प्रतिबद्धता नेताहरूले व्यक्त गरेका छन्।
यसैगरी, आगामी असोज ३ गते वीरगन्जमा मोर्चाको केन्द्रीय नेतृत्वको विशेष उपस्थितिमा भव्य भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरिएको छ।
बैठकले रसुवा, नुवाकोटलगायत देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
पीडितहरूलाई तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्न सरकारसँग जोडदार माग गरिएको छ।
उक्त बैठकमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का मधेस प्रदेश अध्यक्ष अमिताभ बच्चन दास, जनता समाजवादी पार्टी (जसपा) पर्सा जिल्ला अध्यक्ष रामनरेश यादव, जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ,
आम जनता पार्टीका जिल्ला अध्यक्ष विश्वराज पटेल, नेपाल संघीय समाजवादी पार्टीका इन्जिनियर रागीव हुसेन, प्रलोपा नेता बालकृष्ण श्रेष्ठ, जसपा उपाध्यक्ष श्रीराम गिरी र जनमत पार्टीका जिल्ला उपाध्यक्ष नागेन्द्र गुप्तालगायतका नेताहरूको उपस्थिति रहेको थियो।

