वीरगञ्ज । पचास बर्षको गौरवमय इतिहास बसेको वीरगञ्जको स्थापित शैक्षिक संस्था गौतम माध्यमिक विद्यालयले अन्तर विद्यालय वादविवाद प्रतियोगिताको आयोजना गरेको छ ।
स्वर्ण जयन्तीको अवसरमा आयोजित अन्तरविद्यालय नेपाली वादविवाद प्रतियोगितामा प्रतियोगितामा १५ वटा विद्यालयका छात्र र छात्रा गरी ३० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
सहभागीहरूले ‘कृत्रिम बुद्धिमत्ता को प्रयोग, पर्यावरण संरक्षणमा नागरिकको भूमिका, प्रकृतिमाथि विजयको सोच र प्रतिभा पलायन रोक्न राज्य तथा युवाको जिम्मेवारी जस्ता चारवटा समसामयिक तथा सामाजिक विषयमा पक्ष र विपक्षमा आफ्ना तर्क, प्रतिवाद र वक्तृत्वकला प्रस्तुत गरेका थिए।
प्रतिस्पर्धात्मक नतिजाअनुसार रॉेयल एकेडेमीकी नलिक्षा प्रजापतिले प्रथम स्थान हासिल गरिन्। त्यसैगरी, साउथजोन सेकेन्ड्री स्कूलकी सञ्जु कुमारी यादव द्वितीय, लिटिल फ्लावर स्कूलकी अनामिका यादव तृतीय, सेन्ट अल्फान्सोस् स्कूलकी आराध्या मलिक चौथो र कञ्चन्जंगा सेकेन्ड्री स्कूलकी युनिका कार्की पाँचौँ स्थानमा रहिन्।
साउथजोन सेकेन्ड्री स्कूलका प्रिन्स अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै ‘उत्कृष्ट वादविवादकर्ता’को उपाधि हात पारे। गौतम माध्यमिक विद्यालयका प्राचार्य गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं साहित्यकार गणेश लाठ प्रमुख अतिथि रहेका थिए।
मन्तव्य व्यक्त गर्दै उनले वादविवाद प्रतियोगिताले विद्यार्थीहरुको वाककला तथा नेतृत्व विकासमा सहयोग पुग्ने विचार व्यक्त गरे ।
विद्यार्थीहरुले वादविवादमा भाग लिएर आफ्ना तर्क राख्दा सुरुवात कसरी गर्ने ? तर्कलाई कसरी ? काट्ने र आफ्नो विचारबाट कसरी प्रभाव पार्न सकिन्छ भन्ने मुख्य विषयहरु ध्यान दिन सुझाव दिए ।
उनले प्रतियोगितामा सहभागी हुनका लागि मात्रै नभई आजको आवश्यकता अनुसार बजारमा बिक्न सक्ने खालका क्षमता प्रदर्शन गर्ने सीपहरु सिक्न सुझाए ।
प्रतियोगिताको निर्णायक मण्डलमा ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक राम पाण्डे, हरिखेतान बहुमुखी क्याम्पसकी प्राध्यापक रञ्जना घिमिरे तथा प्रेस सेन्टर नेपाल, मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे मगर रहेका थिए। निर्णायक मण्डलको मूल्याङ्कनका आधारमा विजयी विद्यार्थीहरूलाई ट्रफी, मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
विद्यालयका कोअर्डिनेटर सौराज प्रधानले गरेका थिए । कार्यक्रमको सहजीकरण गरेको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक ललित कर्ण, प्रशासन प्रमुख रमेश शर्मा, युवा क्रियाशील पत्रकार संघका अध्यक्ष आनन्द पटेल, कञ्चनजंघा माविका प्रधानाध्यापक मार्टिन मोक्तान लगायत विभिन्न विद्यालयका शिक्षक, शिक्षिका तथा पत्रकारहरु राकेश साह र अभिलाश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

