वीरगन्ज । पर्साको सबैया साझेदारी वन क्षेत्रभित्र अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा दुई वटा ट्याक्टर र दुई जना चालकलाई सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ।
पर्सागढी नगरपालिका–३ भेडाहास्थित सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश बेल्वा र सब–डिभिजन वन कार्यालय सबैयाबाट खटिएको संयुक्त गस्ती टोलीले बालुवा उत्खनन गरिरहेका चालकहरूलाई नियन्त्रणमा लिएको हो।
सबैया साझेदारी वन क्षेत्रमा अवैध ढङ्गले बालुवा उत्खनन गरी ना. ६ त ३६२३ र ना. ६ त ६४२३ नम्बरका ट्याक्टरहरूमा लोड गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।
नियन्त्रणमा लिइएका दुवै ट्याक्टर र चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय, सबैयाको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

