काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालयमा मन्त्री र सचिवको उपस्थितिमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरूबीच वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका विषयमा छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा वैदेशिक रोजगार व्यवसायीहरूले ऐन तथा नियमावली परिमार्जन र प्रक्रियागत सुधारसम्बन्धी विभिन्न मागहरू प्रस्तुत गरेका थिए।
मन्त्रालयका तर्फबाट व्यवसायीका जायज मागहरूलाई वैदेशिक रोजगार ऐन तथा नियमावलीको प्रक्रिया पूरा गरी संशोधनमार्फत सम्बोधन गर्न अधिकतम प्रयास गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
साथै, विभाग स्तरबाट हुने प्रशासनिक सहजीकरण तथा सेवा प्रवाहलाई सहज र नियमपूर्वक अगाडि बढाउने विषयमा पनि सहमति भएको छ।
मन्त्रालयको सकारात्मक प्रतिबद्धतापछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग पूरा गराउन सञ्चालन गर्दै आएका सबै विरोधका कार्यक्रमहरू आजका मितिदेखि नै स्थगित गर्ने घोषणा गरेको छ।
मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेद्वारा जारी विज्ञप्तिमा सहमतिबारे सम्पूर्ण सरोकारवालाहरूलाई जानकारी गराउँदै वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी र व्यवस्थित बनाउन सहकार्य जारी रहने उल्लेख गरिएको छ।

