वीरगन्ज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा मुद्दाको चाप घट्दै गएको छ। पछिल्लो तीन वर्षको तथ्यांक अनुसार मुद्दाको फर्छ्यौट दरमा उल्लेख्य सुधार आएको छ।
गत आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका ३,५९४ र नयाँ दर्ता भएका ४,६३० गरी कुल ८,२२४ मुद्दामध्ये ५,८४६ वटा (७१.८ प्रतिशत) फर्छ्यौट भएका छन्। यसअघि आर्थिक वर्ष २०८१/०८२ मा ५६.८५ प्रतिशत र आर्थिक वर्ष २०८०/०८१ मा ५६.६० प्रतिशत मुद्दा मात्र फछ्र्यौट भएका थिए।
अदालतमा दर्ता हुने मुद्दामध्ये अधिकांश जग्गा किचलो, लिखत बदर, अंश तथा फौजदारीतर्फ ज्यान सम्बन्धी र लागूऔषधका रहेका छन्। अस्थायी इजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीका अनुसार समाजमा देखिएको सकारात्मक परिवर्तन र जनचेतनाका कारण मुद्दाको संख्या घटेको हो।
हाल वीरगन्ज इजलासमा फैसला हुन बाँकी मुद्दाको संख्या २,३७८ (१,३५९ मुद्दा र बाँकी रिट लगायत) रहेको छ। १८ महिना नाघेका मुद्दाको संख्या अघिल्लो वर्ष १५७ रहेकोमा यस वर्ष घटेर २१ मा सीमित भएको रजिष्ट्रार तारादत्त बडुले जानकारी दिए।
वीरगन्ज चिनी कारखानाको प्रशासनिक भवनमा सीमित पूर्वाधार र जनशक्तिका बिच सञ्चालित भए पनि पाटन उच्च अदालतपछिको यो दोस्रो ठूलो अस्थायी इजलासले ७१.८ प्रतिशत न्याय सम्पादन गर्नु ऐतिहासिक उपलब्धि मानिएको छ।

