वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूबीच भेटघाट भएको छ।
वीरगन्जका उद्योगी व्यवसायीहरूको एक प्रतिनिधिमण्डलले सभापति लामिछानेकै निवासमा पुगेर उनीसँग विशेष भेटवार्ता गरेको हो। पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तको समन्वयमा संघका अध्यक्ष हरि गौतमको नेतृत्वमा गएको टोलीले लामिछानेसँग भेट गरेका हुन् ।
भेटघाटका क्रममा संघका पदाधिकारीहरूले नेपालको प्रमुख व्यापारिक नाका तथा औद्योगिक कोरिडोरका रूपमा रहेको वीरगन्ज क्षेत्रका उद्योगी व्यवसायीहरूले वर्तमान समयमा भोग्नुपरेका विभिन्न नीतिगत, आर्थिक तथा व्यावहारिक समस्याहरूका बारेमा सभापति लामिछानेलाई विस्तृत रूपमा जानकारी गराएका थिए।
उनीहरूले निजी क्षेत्रको मनोबल उकास्न र औद्योगिक वातावरण सहज बनाउन राजनीतिक नेतृत्वबाट ठोस पहल हुनुपर्नेमा जोड दिए। व्यवसायीहरूका समस्या र गुनासाहरू सुनेपछि रास्वपा सभापति लामिछानेले देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
उनले उद्योगी व्यवसायीहरूका जायज समस्याहरूको समाधानका लागि सरकार र आफ्नो पार्टी सदैव सकारात्मक रहेको र ती समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्याएर निकास निकाल्न आफूले प्रतिबद्ध भएर पहल गर्ने आश्वासन समेत दिए ।
भेटवार्तामा वीरगन्ज महानगरपालिकाका प्रथम मेयर विजय कुमार सरावगी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, बरिष्ठ उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द गोयल, सहसचिव सुशान्त चाचान लगायत पदाधिकारीहरू तथा उद्योगीहरूको सहभागिता रहेको थियो।

