वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा स्थानीय युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यका साथ सञ्चालित दुई छुट्टाछुट्टै सीपमूलक प्राविधिक तालिमहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित २१ दिने प्लम्बर तथा २७ दिने बिल्डिङ इलेक्ट्रिसियन तालिम समापन भएसँगै नगरका कुल ३५ जना युवाहरू दक्ष प्राविधिकका रूपमा स्वरोजगार बन्ने बाटो खुलेको छ।
यसैक्रममा जनकल्याण डेभलपमेन्ट एण्ड एग्रीकल्चर प्रा।ली।को आयोजना र पर्सागढी नगरपालिकाको सहयोगमा सञ्चालित २१ दिने प्लम्बर तालिम यही असार १६ गते एक समारोहका बीच समापन गरिएको छ।
इन्जिनियर नवलकिशोर रौनियारले मुख्य प्रशिक्षकका रूपमा प्रशिक्षण दिएको उक्त तालिममा १५ जना स्थानीय युवाहरूको सहभागिता रहेको थियो।
२१ दिनसम्म सञ्चालित तालिम सफलतापूर्वक पूरा गरेपछि सहभागीहरू प्लम्बर टेक्निसियन र मिस्त्रीका रूपमा काम गर्न योग्य भएका छन्, जसले गर्दा उनीहरूमा स्वरोजगार बन्ने नयाँ उत्साह थपिएको छ।
यसैगरी, बिरगंज कन्सलटेन्सी एण्ड ट्रेनिङ सेन्टर प्रा।ली।को आयोजना तथा नगरपालिकाकै सहयोगमा आमोदेबी क्याम्पस बडनिहारमा सञ्चालित २७ दिने बिल्डिङ इलेक्ट्रिसियन तालिम असार १७ गते सम्पन्न भएको छ।
उक्त तालिमको समापन कार्यक्रममा पनि नगर प्रमुख गोकर्ण पाठकको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृतको विशेष आतिथ्यता रहेको थियो।

सब–इन्जिनियर सुनिल रौनियारले प्रशिक्षकका रूपमा प्रशिक्षण दिनुभएको यस तालिममा २० जना स्थानीय युवाहरूले प्राविधिक ज्ञान हासिल गरेका छन्।
२७ दिनको सघन सिकाइपछि बिल्डिङ इलेक्ट्रिसियन टेक्निसियन बनेका सहभागीहरूले गाउँघरमै रोजगारी र व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्न पाउने अवसर पाएकोमा खुसी व्यक्त गरेका छन्।
समापन कार्यक्रममा प्रमुख अतिथि पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठकले सिकेका तालिममा सिकेका सीपलाई व्यवहारमा उतारेर जीविकोपार्जनमा भूमिका खेल्ने बताए ।
विशिष्ट अतिथिका रूपमा सहभागी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले स्थानीय सरकारले युवाहरुलाई रोजगारीका लागि सहज होस भनेर तालिम आयोजना गरिएको र तालिमले धेरै बेरोजगार युवाहरुले रोजगारी पाउनेमा आशावादी रहेको बताए ।

