वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगर कमिटिको सभापतिमा दीपराज पटेल निर्वाचित भएका छन् । आईतबार सम्पन्न भएको प्रथम महानगर अधिवेशनको निर्वाचनबाट पटेलको नेतृत्वमा नयाँ कमिटि निर्वाचित भएको हो ।
दीपराज पटेल र म. महुद्दीन आलमबीच भएको प्रतिस्पर्धामा पटेल ४७ मतले विजयी भएका हुन् । उनले २२६ मत ल्याएका थिए । म.महुद्दीन आलमले १७९ मत मात्रै ल्याए । कमिटिको उपसभापतिमा परितोष द्विवेदी निर्वाचित भएका छन् ।
उनले १८४ मत ल्याएका छन् । उपाध्यक्षका अरु दुईजना उम्मेदवारहरु निखिल वर्णवालले १७६ मत र विशाल कुमार पटेलले २९ मत ल्याएका छन् । त्यस्तै सचिवमा गौतम श्रेष्ठ २३२ मत सहित विजयी भएका छन् ।
अर्का प्रतिस्पर्धी जुनैद अन्सारीले १६६ मत पाएका छन् । सह–सचिवका उम्मेदवार मून्ना साह तेलीले १८८ मत ल्याएर विजयी भएका छन् । सह–सचिवका प्रतिस्पर्धी राज नन्दन कलवारले १७१ मत र ऋषिकेस गुप्ताले ४५ मत मात्रै पाए ।
त्यस्तै सदस्यहरुमा रञ्जित कुमार पटेल, प्रमोद कुमार पटेल, आजम मन्सुरी, जितेन्द्र प्रसाद सोनार, मोहन साह सोनार, चन्दन महतो कहार, सदरे आलम अन्सारी, कन्हैया साह विजयी भएका छन् ।
त्यस्तै पिंकी कुमारी साह, अन्जु चौरसिया, सावित्री कुमारी घिमिरे, शोभा गुप्ता र दिसना गिरी महिला सदस्यमा विजयी भएका छन् । २५ सदस्यीय महानगर कमिटिमा २३ जना निर्वाचित भएका र बाँकी दुईजना पछि मनोनित गर्ने रास्वपा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम आर्यले जानकारी दिए ।
महानगरमा पराजित म.महुद्दीन आलम यसअघि सभापति थिए भने, निर्वाचित दीपराज पटेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसदमा उम्मेदवार बनेका थिए ।

