वीरगञ्ज । सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत अमर्यादित अभिव्यक्ति दिएको आरोपमा व्यवसायी दुर्गा प्रसाईं पर्साबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रसाईंलाई वीरगञ्जको सिद्धार्थ दियालो होटलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार ५६ वर्षीय प्रसाईंलाई जेठ ४ गते राति करिब ८ बजेको समयमा होटलबाटै नियन्त्रणमा लिइएको हो । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ बस्दै आएका प्रसाईंमाथि विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरमा अनुसन्धान अघि बढाइएको छ ।
पक्राउ परेका प्रसाईंमाथि अनुसन्धान गर्न सम्मानित पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा अभिव्यक्ति दिने क्रममा सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्ध कसैप्रति घृणा वा द्वेष फैलाउने कार्य गरेको प्रहरीको दाबी छ ।
विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धमा खलल पुर्याउने तथा नेपाल सरकार र सरकारको काम कारबाहीका सम्बन्धमा निराधार एवं अप्रमाणित कुराहरू प्रचार गरेको अभियोग उनीमाथि लगाइएको छ ।
सरकारप्रति घृणा, द्वेष वा अवहेलना जगाउने उद्देश्यले अमर्यादित र अस्वस्थ आलोचनात्मक अभिव्यक्ति दिएकाले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

