वीरगञ्ज । बैंकिङ कसूर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय प्रमोद कुमार ठाकुरलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठाकुरलाई उनकै थातथलोमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।
पर्सा जिल्ला अदालतको फैसलाले ठाकुरलाई बैंकिङ कसूर मुद्दामा एक महिना कैद र ९ लाख २६ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
सजाय घोषणा भएदेखि नै फरार रहँदै आएका उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

