काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले आफ्ना सम्पूर्ण कर्मचारी र मातहतका निकायका लागि एक कडा आचारसंहिता जारी गर्दै नयाँ प्रशासनिक सुधारको सुरुवात गरेको छ । मन्त्रालयको हालैको पुनर्संरचनापछि सार्वजनिक सेवालाई थप उत्तरदायी र चुस्त बनाउने उद्देश्यले यो कदम चालिएको हो ।
नयाँ नियमअनुसार अब कर्मचारीहरूले सेवाग्राहीसँग झर्कोफर्को नगरी अनिवार्य रूपमा शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ । मन्त्रालयले भ्रष्टाचार र अनुचित लाभ लिने प्रवृत्ति विरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै कुनै पनि प्रकारको उपहार, घुस वा गैरकानुनी सुविधा लिन पूर्ण प्रतिबन्ध लगाएको छ । यसका साथै आफ्नो पदको दुरुपयोग गरी व्यक्तिगत स्वार्थका आधारमा निर्णय गर्ने र सरकारी गाडी वा अन्य स्रोत(साधन निजी काममा प्रयोग गर्ने प्रवृत्तिलाई पनि कडाइका साथ रोकिएको छ ।
प्रशासनिक अनुशासनलाई मजबुत बनाउन कर्मचारीहरूका लागि कार्यालय समयको पूर्ण पालना र तोकिएको पोसाकको प्रयोग अनिवार्य गरिएको छ । कार्यालयभित्र सहकर्मीहरूबीच स्वस्थ र सहयोगात्मक वातावरण बनाउनुपर्ने व्यवस्था आचारसंहितामा छ । मन्त्रालयले सरकारी कामकाजका गोप्य कागजात, निर्णय र सेवाग्राहीका व्यक्तिगत विवरणहरू सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट सार्वजनिक गर्न नपाइने गरी गोपनीयताको नियममा समेत कडाइ गरेको छ ।

