वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बृजेश्वर प्रसाद चौधरीले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टीको आन्तरिक कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले साधारण सदस्य समेत नरहने गरी रास्वपा छोडेका हुन्।
आफ्नो राजनीतिक यात्रा सेवा, इमानदारी र जनताको पक्षमा उभिने उद्देश्यका साथ सुरु भए पनि पछिल्लो समय पार्टीको स्थानीय तहमा सिद्धान्तभन्दा स्वार्थ र निष्ठाभन्दा गुटबन्दी हाबी भएको उनले बताएका छन्।
नेता चौधरीले पार्टीभित्र क्षमता र योगदानलाई भन्दा आफ्ना मान्छेलाई प्राथमिकता दिने प्रवृत्ति बढेकाले धेरै सोचविचार गरेर यात्रा टुङ्ग्याउने निर्णयमा पुगेको उल्लेख गरे।
रास्वपा छोडे पनि आफ्नो राजनीतिक र सामाजिक यात्रा अन्त्य नभएको स्पष्ट पार्दै उनले आगामी स्थानीय निर्वाचनमा जगरनाथपुर गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा समेत गरेका छन्।
जनताको साथ र विश्वास पाएमा आफू स्वतन्त्र रूपमै चुनावी मैदानमा उत्रिने भन्दै उनले समाजप्रतिको जिम्मेवारी र प्रतिबद्धता सधैं यथावत रहने बताए।
उनले आफ्नो राजनीतिक यात्रामा अहिलेसम्म साथ र सहयोग गर्ने सम्पूर्ण शुभेच्छुकहरूलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।
उनी यसअघि विभिन्न पार्टीमा प्रवेश गरेर पछिल्लो पटक रास्वपामा प्रवेश गरेका थिए । अहिले रास्वपा पनि छोडेर स्वतन्त्र रुपमा सामाजिक सेवामा क्रियाशील रहने बताएका छन् ।

