वीरगन्ज । वर्तमान सरकार निजीक्षेत्र र सञ्चारक्षेत्रमाथि आक्रामक बन्दै गएको भन्दै वीरगन्जका सरोकारवालाहरुले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभामा वक्ताहरुले सरकार यी दुई क्षेत्रमाथि अनुदार बनेर अधिनायकवादतर्फ उन्मुख हुन खोजेको आरोप समेत लगाए ।
कार्यक्रमका प्रमुख अतिथि उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जका मुख्य न्यायधीश गोकर्ण डाँगीले मुलुकको लोकतान्त्रिक रूपान्तरण, न्यायलयको शुद्धीकरण, विधिको शासनको रक्षा र नागरिक हकअधिकारको पैरवीमा पत्रकारिता क्षेत्रको भूमिका अपरिहार्य रहेको चर्चा गरे ।
सञ्चारमाध्यम र पत्रकार बिना मुलुकमा शान्ति, सुशासन र नागरिकको प्रतिनिधित्व सम्भव नहुने भन्दै उनीहरुले राज्यको चौथो अंगलाई नजरअन्दाज गरिए न्याय सम्पादन र विकास निर्माणका काममा राज्य चुक्ने टिप्पणी गरे ।
राजनीतिक परिवर्तनसँगै प्रविधिको विकास र सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारिता क्षेत्रमा नयाँ चुनौती थपेको भन्दै वक्ताहरुले अबको परिस्थितिमा पत्रकारिताले पनि परिमार्जित हुन जरुरी रहेको औंल्याए ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य सुवोध गुप्ताले न्यायपालिका, सञ्चारक्षेत्र र निजीक्षेत्रबीच बलियो समन्वय हुनुपर्नेमा जोड दिए ।
निजीक्षेत्रले सधैं परिकल्पना गरेको बलियो र स्थिर सरकार बनेको अवस्थामा अबको समय आर्थिक विकासमा केन्द्रित हुनुपर्ने गुप्ताले बताए ।
त्यस्तै, पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले पत्रकारिताको मुख्य धर्म नै प्रश्न गरेर राज्यलाई नागरिकप्रति जबाफदेही बनाउनु रहेको प्रष्ट पारे ।
पत्रकारसँग कुनै संवैधानिक वा कानुनी शक्ति नभई केवल नागरिकको विश्वास नै सबैभन्दा ठूलो शक्ति भएको उनको भनाइ थियो । राज्य वैधानिकता प्राप्त दमनकारी निकाय भएकाले त्यसले गर्ने जनविरोधी काम र दमनका विरुद्ध पत्रकारिताले निरन्तर खबरदारी गरिरहने लामिछानेले उल्लेख गरे ।
क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष प्रणय कुमारको अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्वविद्यालयका उपकूलपति प्रा.डा.दीपक शाक्य, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जारा, प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, समाजवादी प्रेस संगठन मधेस प्रदेशका अध्यक्ष मनोज पटेल, ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोईराला, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद लगायतले शुभकामना व्यक्त गरेका थिए ।
साधारणसभाको उदघाटन सत्रमा स्वागत संस्थाका उपाध्यक्ष आनन्द पटेलले र सञ्चालन महासचिव विरेन्द्र साहले गरेका थिए । कार्यक्रममा विभिन्न संघसंस्था र व्यक्तिहरु सम्मानित भएका थिए । उदघाटनसत्र पछि भएको बन्दसत्रबाट निवर्तमान उपाध्यक्ष आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन गरेको छ ।

