वीरगन्ज । पर्सा जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा उत्साहजनक देखिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ, पर्साले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार नियमिततर्फ सहभागी कुल ८ हजार ४ सय १२ परीक्षार्थीमध्ये ३ हजार ४ सय ५ जना सफल भएका छन् । यो उत्तीर्ण प्रतिशत ४०.४७ रहेको छ ।
उत्तीर्ण विद्यार्थीहरूको नतिजालाई स्तरीकृत रूपमा विश्लेषण गर्दा सबैभन्दा माथिल्लो ग्रेड ‘ए प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ४ सय ५९ रहेको छ ।
त्यसैगरी ९ सय १२ जनाले ‘ए’ ग्रेड प्राप्त गरेका छन् भने ३ सय २४ जनाले ुबी प्लसु ग्रेड हासिल गरेका छन् । ९ सय ५५ जना परीक्षार्थीहरू ‘बी’ ग्रेडमा उत्तीर्ण भएका छन् ।
मध्यम स्तरको उपलब्धि हासिल गर्नेमा ७ सय १७ जनाले ‘सी प्लस’ र ३८ जनाले ‘सी’ ग्रेड प्राप्त गरेको समन्वय इकाइले जनाएको छ ।
जिल्लाको समग्र शैक्षिक अवस्था र विद्यार्थीको मेहनतलाई यो नतिजाले प्रतिबिम्बित गरेको छ । परीक्षामा सहभागी अन्य परीक्षार्थीहरूको ग्रेड वृद्धिको अवसर र थप प्रक्रियाका बारेमा पनि कार्यालयले आवश्यक समन्वय गरिरहेको बताईएको छ ।

