वीरगन्ज । वीरगञ्जको शंकराचार्य गेटबाट लागु औषधसहित एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २६ वर्षीय पैयाल अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गरिरहेको ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान’ अन्तर्गत आइतबार साँझ उनलाई नियन्त्रणमा लिइएको हो।
भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका अन्सारीलाई वीरगञ्ज महानगरपालिका वडा नं.– १६ स्थित चेक प्वाइन्टमा शंका लागेर जाँच गर्दा उनको साथबाट ०.१० मिलिग्राम खैरो हिरोइन र ४ ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ।
शरीरमा लुकाइछिपाइ लागु औषध ल्याउँदै गरेको अवस्थामा फेला पारेपछि उनलाई तत्कालै नियन्त्रणमा लिइएको थियो। पक्राउ परेका अन्सारीमाथि लागु औषध नियन्त्रण ऐन अन्तर्गतको कसूरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले विज्ञप्तिमार्फत जानकारी दिएको छ।

