वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस–रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको एकजनालाई ५० लाख बिगो सहित मुद्दा दायर गरेको छ ।
घुस–रिसवत मुद्दामा बयान फेरेको अभियोगमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं.– ७ स्थायी घर भई हाल चन्द्रागिरी नगरपालिका वडा नं.– ५ मा बस्ने सुमित्रा कुमारी घिमिरे पुडासैनी विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरेको हो ।
उनलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकोमा अदालतमा बयान फेरेको (प्रतिकूल बकपत्र) आरोप लागेको हो।
नेपाल सरकार वादी र चन्द्र बहादुर अधिकारीसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दा (मुद्दा नं. ०८१–सीआर–०११८) मा उनी मुख्य साक्षी थिइन्।
अनुसन्धानका क्रममा आयोगलाई सहयोग गर्ने गरी बयान दिएकी उनले अदालतमा पुगेर सो बयानलाई खण्डन गरी प्रतिवादीलाई सहयोग पुग्ने गरी अभिव्यक्ति दिएको आयोगको ठहर छ।
आयोगले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा कारबाहीको माग गरेको छ।
मागदाबीमा ५० लाख रुपैयाँ बिगो कायम गरी सोही बमोजिमको जरिवाना र कैद सजायको माग गरिएको टङ्गालस्थित आयोगको कार्यालयले जनाएको छ। साक्षीले नै अदालतमा बयान फेर्दा मुद्दाको कारबाहीमा अवरोध पुग्ने भएकाले कडा सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

