वीरगन्ज । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा सुचारु हुन नसकेको जानकारी दिएको छ।
विभागले एक सूचना जारी गर्दै गत वैशाख २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NIDMIS) मा देखिएको प्राविधिक समस्या अझै समाधान हुन नसकेको जनाएको हो।
विभागका अनुसार प्रणालीमा आएको गडबडीका कारण नयाँ इनरोलमेन्ट गर्दा प्राप्त हुने राष्ट्रिय परिचय नम्बर (NIN) लाई प्रणालीले प्रमाणीकरण (Validate) गर्न सकेको छैन।
यसअघि वैशाख २३ गते नै सेवा अवरुद्ध भएको जानकारी गराइएको भए तापनि मर्मत कार्य जारी रहेकाले सेवा कहिलेदेखि सुचारु हुन्छ भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन।
यस प्राविधिक समस्याले गर्दा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको परिचयपत्र इकाइबाट प्रदान गरिने सेवाहरू प्रभावित भएका छन्।
विभागले सेवा सुचारु हुनासाथ अर्को सूचनामार्फत जानकारी दिने बताएको छ। राहदानी बनाउन वा अन्य सरकारी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको अवस्थामा सेवा लामो समयसम्म अवरुद्ध हुँदा देशभरका सेवाग्राहीहरू निकै मर्कामा परेका छन्।


