वीरगन्ज । वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयमा केही दिनअघि विद्यार्थी प्रवेशको विषयलाई लिएर उत्पन्न विवाद आपसी समझदारीमा समाधान भएको छ।
विद्यालय प्रशासन र पीडित पक्षबीच भएको छलफलपछि भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धतासहित सहमति जुटेको हो।
घटना विवरणअनुसार गत वैशाख २१ गते नयाँ भर्नाका लागि लिइएको प्रवेश परीक्षा र ग्रिन सिटी अभियानअन्तर्गत भइरहेको नाला सफाइका कारण विद्यालय परिसरमा अत्यधिक भीडभाड थियो।
सोही क्रममा कक्षा १० मा अध्ययनरत छात्रा अंकिता गुप्ता र कक्षा ८ मा अध्ययनरत आराध्या गुप्ताले प्रवेश–कार्ड (इन्ट्री कार्ड) साथमा नल्याएको भन्दै उनीहरूलाई कक्षामा प्रवेश नदिई बाहिर राखिएको थियो।
उक्त विषयलाई लिएर छात्रा र अभिभावकले विद्यालयको व्यवहारप्रति आपत्ति जनाउँदै आएका थिए। विद्यालय प्रशासनले परिस्थितिवश संवादमा कमी भएको र त्यसले विद्यार्थी तथा अभिभावकमा पुग्न गएको मानसिक पीडाप्रति खेद प्रकट गरेको छ।
घटना नियतवश नभई भिडभाडका कारण उत्पन्न परिस्थितिजन्य भएको विद्यालयको भनाइ छ।
विवाद समाधानका लागि पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताको रोहबरमा दुवै पक्षबीच मेलमिलाप भएको हो।
सहमतिको क्रममा विद्यालयले आगामी दिनमा यस्ता त्रुटि नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने अभिभावक पक्षले पनि आपसी सम्बन्धलाई सकारात्मक बनाउँदै लैजाने जनाएका छन्।
छलफलमा पिन्टू रानिमार, सन्तोष पटेल, ललित कर्ण र रमेश कुमार शर्मा लगायतको उपस्थिति रहेको थियो। यस सहमतिसँगै दुवै पक्षबीचको पछिल्लो विवाद औपचारिक रूपमा अन्त्य भएको छ।

