हेटौडा— मकवानपुर प्रहरीले अवैध सालको काठ लोड गरिएको एक थान पिकअप गाडी नियन्त्रणमा लिएको छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित क्याम्पाडाँडामा शनिबार बिहान १:३५ बजेको समयमा प्रहरीले ७२.५९ क्यू फिट चिरान गरिएको सालको काठ बरामद गरेको हो।
वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको टोलीले कान्तिलोकपथ सडकखण्डमा चौघडाबाट हेटौडातर्फ आउँदै गरेको बा २० च १८६१ नम्बरको योद्धा पिकअप गाडीलाई शंका लागेर रोक्न खोजेको थियो। प्रहरीलाई देखेपछि चालकले गाडी नरोकी भगाएका थिए। लगत्तै पिछा गरेको प्रहरी टोलीले हेटौडा—२ सानोपोखरा चोकस्थित भित्री सडकमा गाडीलाई फेला पारेको थियो।
गाडीभित्र खानतलासी गर्दा बिना इजाजत ओसारपसार गरिएको सालको चारपाटे काठ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। नियन्त्रणमा लिइएको काठ र गाडीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हेटौडा पठाइएको छ। गाडी चालक भने फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

