वीरगञ्ज । वीरगञ्जमा ‘शून्य फोहोर मेला–२०२६’ सफलतापूर्वक सम्पन्न भएको छ। आमा नेपाल फाउन्डेशनको आयोजनामा “त्यधबचमक ब ऋभिबलभच, न्चभभलभच बलम क्गकतबष्लबदभि ँगतगचभ” भन्ने मूल नाराका साथ वीरगञ्जस्थित क्लासिक ब्याङ्केटमा आयोजित उक्त कार्यक्रमले स्वच्छ र दिगो शहर निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वातावरण संरक्षण र फोहोर व्यवस्थापन वर्तमान समयको प्रमुख चुनौती रहेको उल्लेख गरे । उनले यो अभियानलाई केवल नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्न समुदायस्तरबाटै पहल हुनुपर्नेमा जोड दिए ।
वीरगञ्जलाई स्वच्छ र दिगो शहर बनाउन स्थानीय सरकार, निजी क्षेत्र र शिक्षा क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो। मेलामा विभिन्न विद्यालय, कलेज तथा संस्थाहरूले वातावरणमैत्री सामग्री, फोहोरको पुनः प्रयोग र पुनर्चक्रणबाट निर्मित हस्तकलाका सामग्रीहरू प्रदर्शन गरेका थिए।
जनचेतनामूलक कला प्रस्तुति र प्रदर्शनीले सहभागीहरूलाई फोहोर व्यवस्थापनको आधुनिक र दिगो तरिकाबारे जानकारी प्रदान गरेको थियो। कार्यक्रमकै अवसरमा समुदायस्तरमा सरसफाइ र वातावरणीय चेतना जगाउन ‘क्लिन–अप क्याम्पियन’ समेत सञ्चालन गरिएको थियो।
आमा नेपाल फाउन्डेशनकी अध्यक्ष प्रमिता मानन्धरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उद्योगी, शिक्षाविद्, स्वास्थ्यकर्मी र युवाहरूको उल्लेख्य सहभागिता थियो। अध्यक्ष मानन्धरले ‘शुन्य फोहोर’ अभियान समाजको सोच र व्यवहार परिवर्तनसँग जोडिएको अभियान भएको बताउँदै वीरगञ्जलाई “शुन्य फोहोर सहर” बनाउने दीर्घकालीन लक्ष्यका साथ संस्था अघि बढ्ने प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा समाज कल्याण शाखा प्रमुख प्रतिज्ञा वैद्य, प्रा. डा. बबिता सिंह, र तेरापन्थ महिला मण्डलकी अध्यक्ष ममता कोठारी लगायतको उपस्थिति थियो।
फाउन्डेशनका कार्यकारी निर्देशक सन्तोष कुमार श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा प्लास्टिक प्रदूषण न्यूनीकरण र फोहोर वर्गीकरणमा युवाहरूको भूमिका महत्वपूर्ण हुने विषयमा छलफल गरिएको थियो।

