जनकपुरधाम । मधेश प्रदेश सभाको चालु छैठौं अधिवेशन गएरातिदेखि अन्त्य भएको छ। प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख प्रा.डा.सुरेन्द्रलाभ कर्णले अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषद्को वैशाख ९ गतेको बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
सोही निर्णयका आधारमा प्रदेश प्रमुखबाट वैशाख ११ गते शुक्रवार राति १२ः०० बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरिएको शाखा अधिकृत कृष्ण ठाकुरले जानकारी दिए ।
अधिवेशन अन्त्यसँगै प्रदेश सभाको हालको बैठकका सम्पूर्ण प्रक्रियाहरू विधिवत् रूपमा सम्पन्न भएका छन्। अब अर्को अधिवेशन सरकारको सिफारिसमा प्रदेश प्रमुखद्वारा पुनः आह्वान गरिनेछ।
