वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा इलेक्ट्रिक स्कुटर बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न नाकाबाट अवैध रूपमा ल्याइँदै गरेका २२ थान इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार बीरगञ्ज महानगरपालिका–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वडा नं. २५ स्थित सिर्सिया नाकाबाट ७ थान र विन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनिभाठा नाकाबाट १ थान स्कुटर बरामद गरिएको हो।
तस्करहरूले स्कुटर छाडेर भागेपछि सशस्त्र प्रहरीको टोलीले ती स्कुटर नियन्त्रणमा लिएको थियो। बरामद गरिएका स्कुटरको कुल मूल्य १७ लाख ३० हजार रुपैयाँ बराबर रहेको छ।
नियन्त्रणमा लिइएका सम्पूर्ण स्कुटर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन राज निरौलाले जानकारी दिए।
सीमा क्षेत्रमा हुने अवैध कारोबार र भन्सार छली नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र सक्रियता बढाएको छ।
