बीरगंज । बीरगंज महानगरपालिकामा जारी सडक विस्तार अभियानका क्रममा सडक किनारबाट हटाइएका रुखहरूलाई ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रले नयाँ जीवन दिएको छ।
सडक फराकिलो बनाउँदा उखेलिएका रुखहरूलाई बेवारिसे अवस्थामा छाडिनुको साटो केन्द्रले सक्रियता देखाउँदै तिनलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो।
घण्टाघरस्थित वि. पी. उद्यान पार्कमा ती रुखहरूलाई विधिवत् रूपमा पुनः वृक्षारोपण गरिएको ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
रुखहरूलाई पुनः रोपेर हरियाली जोगाउने यो प्रयासले वातावरण संरक्षणप्रति संस्थाको उच्च प्रतिबद्धता र जिम्मेवारी बोध गराएको छ। विकासका गतिविधिले वातावरणीय सन्तुलनमा पार्न सक्ने नकारात्मक असरलाई न्यूनीकरण गर्न सामुदायिक सेवा केन्द्रले खेलेको भूमिका प्रशंसनीय रहेको स्थानीयको भनाई छ ।
बीरगंजलाई स्वच्छ र स्वस्थ बनाउन चालिएको यो सकारात्मक पहलले अन्य सामाजिक संघसंस्था तथा आम नागरिकलाई समेत प्रकृतिप्रति उत्तरदायी बन्न प्रेरित गरेको छ।
उखेलिएका रुखहरूको संरक्षण गरी पार्कको शोभा बढाउनु र वातावरणीय क्षति कम गर्नु आफैमा एक अनुकरणीय उदाहरण बनेको छ।
यो कार्यले विकास र वातावरण संरक्षणलाई एकअर्काको विरोधीका रूपमा नभई सँगसँगै लैजान सकिन्छ भन्ने पुष्टि गरेको छ।
