वीरगन्ज । आजदेखि विक्रम संवत् २०८३ विधिवत् रूपमा प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा लिँदै देशभर वैशाख १ गतेको पहिलो दिनलाई एकआपसमा शुभकामना आदानप्रदान गरी भव्यताका साथ मनाइँदैछ ।
संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहे पनि नेपालमा विक्रम संवत्लाई सबैभन्दा पुरानो र मौलिक संवत्का रूपमा स्थापित गरिएको छ, जसको पहिलो दिनलाई नेपालीहरूले आफ्नो मुख्य पर्वका रूपमा लिने गर्दछन् ।
ज्योतिषशास्त्रीय एवं वैज्ञानिक दृष्टिकोणले पनि आजको दिनको विशेष महत्त्व रहेको छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट आफ्नो नयाँ यात्रा सुरु गर्ने भएकाले यसलाई मेष सङ्क्रान्ति वा वैशाख सङ्क्रान्ति पनि भनिन्छ ।
सूर्यको गतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले विक्रम संवत्लाई शाश्वत र वैज्ञानिक मानिन्छ । सूर्य मेष राशिमा प्रवेश गरेसँगै नयाँ वर्षको सुरुवात हुने र मीन राशिमा पुगेर वर्षको अन्त्य हुने यो चक्रलाई विद्वानहरूले समयको सही मापनका रूपमा व्याख्या गरेका छन् ।
यस अवसरमा हरेक व्यक्तिले विगतको वर्षमा प्राप्त सफलता र असफलताको समीक्षा गर्दै आगामी दिनमा नयाँ योजनाका साथ अघि बढ्ने सङ्कल्प समेत गर्ने गर्दछन् ।
नयाँ वर्षका अवसरमा आज बिहानैदेखि देशका विभिन्न भागमा विशेष चहलपहल देखिएको छ । बिहान सबेरै नुहाउने, घरकोठा तथा आँगन सफा गर्ने र मठमन्दिरमा गई पूजाआराधना गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
यस दिन विशेष परिकार खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गर्ने र आत्मीयता साटासाट गर्ने मौलिक परम्परा रहेको छ ।
भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्राले आजको दिनलाई अझ विशेष बनाएको छ भने तराई क्षेत्रमा आजकै दिन मात्र फुल्ने प्रसिद्ध सहलेश फूलको दर्शन गर्न श्रद्धालुहरूको ठूलो घुइँचो लाग्ने गर्दछ, जसले यो पर्वको सांस्कृतिक र प्राकृतिक महत्त्वलाई उजागर गरेको छ ।
नयाँ वर्षको यस पावन अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गरेका छन् ।
उनीहरूले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुख, शान्ति र समृद्धिको कामना गर्दै नयाँ वर्षले देशमा आर्थिक विकास र सामाजिक सद्भाव कायम गर्न थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
विश्वभर छरिएर रहेका नेपालीहरूले समेत आजको दिनलाई आफ्नो पहिचान र संस्कृतिको अभिन्न अङ्गका रूपमा हर्षोल्लासका साथ मनाइरहेका छन् ।
