१ वैशाख, वीरगन्ज । नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा ‘उपकार सेवा नेपाल’ले सामाजिक उत्तरदायित्व वहन गर्दै ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरस्थित वृद्धवृद्धा आश्रममा आश्रितहरूका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ।
संस्थाले आश्रममा आश्रित १७ जना अपाङ्गता भएका व्यक्ति, सुस्त मनस्थिति भएका व्यक्ति, वृद्धवृद्धा तथा बालबालिकाहरूको दैनिक जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्रीहरू प्रदान गरेको हो। उपकार सेवा नेपालले नियमित रूपमा हरेक महिना गर्दै आएको सहयोगलाई निरन्तरता दिँदै यस महिना पनि खाद्यान्न सामग्री उपलब्ध गराएको हो।
आश्रममा आयोजित एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले आश्रमका सदस्य शेर बहादुर थिङलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको थियो।
संस्थाद्वारा हस्तान्तरित सामग्रीहरूमा ९० किलो (३ बोरा) चामल, ५ किलो (१ बोरा) सोयाबिन, १० लिटर खानेतेल, १० किलो मसुरो दाल, १० किलो चिउराका साथै लुगा धुने साबुन, बिस्कुट, बेसार र मसला लगायतका दैनिक उपभोग्य वस्तुहरू रहेका छन्।
आश्रमका आश्रितहरूलाई विगतदेखि नै निरन्तर सहयोग गर्दै आएको उपकार सेवा नेपालले आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
