वीरगंज । वीरगंज महानगरपालिकाको आमसञ्चार प्रवर्द्धन तथा नियमन समितिले पूर्णता पाएको छ। यसअघि नै वरिष्ठ पत्रकार शत्रुघ्न नेपालको संयोजकत्वमा गठन भएको यस समितिमा बिहीबार थप ११ जना सदस्यहरू मनोनयन गरिएसँगै यसले पूर्ण स्वरूप पाएको हो।
महानगरपालिकामा आयोजित एक विशेष कार्यक्रमका बीच नगर प्रमुख राजेशमान सिंहले नवमनोनित सदस्यहरूलाई मनोनयन पत्र हस्तान्तरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले समितिको विस्तारसँगै महानगरको सूचना प्रणाली अझ सुदृढ, व्यवस्थित र पारदर्शी हुने विश्वास व्यक्त गरे ।
उनले सञ्चार क्षेत्र लोकतन्त्रको मेरुदण्ड भएकाले स्थानीय सरकारले सञ्चार जगतसँगको सहकार्य र समन्वयलाई सधैं उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । प्रमुख सिंहले नयाँ सदस्यहरूलाई बधाई दिँदै उहाँहरूको कार्यकालको सफलताको कामना समेत गरे ।
समितिको सदस्यमा क्रान्ति साह, अमित साह, लक्ष्मी खरेल, जितेन्द्र साह, कन्हैया प्रसाद कलवार (गुप्ता), विरेन्द्र कुमार साह, निर बहादुर पिठाकोटे (निरज), ग्यासु मियाँ देवान, अर्जुन प्रसाद गुप्ता, छेदी राम र मनोज कुमार पटेल मनोनयन भएका छन्। ११ जना नयाँ सदस्य थपिएपछि अब समितिले आफ्ना नियमित कार्यहरूलाई गति दिनेछ।
यो समितिको मुख्य जिम्मेवारी महानगरपालिका र सञ्चारमाध्यमहरूबीचको सम्बन्धलाई थप बलियो बनाउनु, सूचना प्रवाहलाई सहज र समयमै जनतासम्म पुर्याउन समन्वय गर्नु र आमसञ्चार क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारका लागि आवश्यक सुझावहरू प्रदान गर्नु रहेको छ। समितिको सक्रियतासँगै स्थानीय सरकारका गतिविधिहरूलाई जनमुखी बनाउन र सञ्चार क्षेत्रको हकहितमा ठोस काम हुने अपेक्षा गरिएको छ।

