काठमाडौँ । देशभरका सम्पूर्ण मतदान केन्द्रहरूमा आज शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार अहिलेसम्म देशका कुनै पनि मतदान केन्द्रमा मतदान कार्य रोकिएको छैन। केही स्थानमा सामान्य विवादका कारण मतदान रोकिए पनि ती ठाउँहरूमा तुरुन्तै सहमति जुटाएर पुनः सुचारु गरिसकिएको जानकारी उनले दिएकी छिन्।
आम मतदाताहरूले कुनै डर वा त्रास बिना स्वतन्त्र रूपमा आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। यस पटकको निर्वाचनमा सुरक्षाको विशेष र मजबुत प्रबन्ध मिलाइएकाले मतदाताहरू ढुक्क भएर मतदान केन्द्रसम्म पुगेका छन्। निर्वाचन व्यवस्थापनका प्राविधिक तथा प्रशासनिक सबै पक्षहरू व्यवस्थित रूपमा सञ्चालन भइरहेका छन्।
“आम मतदाताहरू एकदमै स्वतन्त्र किसिमले आफ्नो मतदान गरिरहनुभएको छ। अहिलेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान रोकिएको आधिकारिक जानकारी हामीलाई प्राप्त भएको छैन,” आयुक्त तुलाधरले भनिन्।
निर्वाचन आयोगले मतदानको समय आज साँझ ५ बजेसम्म मात्र कायम रहेको पुनः स्मरण गराएको छ। समयमै आफ्नो तोकिएको मतदान केन्द्रमा पुगेर आफ्नो अमूल्य मत प्रयोग गर्न आयोगले सम्पूर्ण नेपाली नागरिकहरूलाई हार्दिक आग्रह गरेको छ।
