धनगढी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा मतदान उत्साहजनक रूपमा भइरहेको छ। निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ बजेसम्म प्रदेशभर औसत करिब २० प्रतिशत मतदान सम्पन्न भएको छ।
आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस अवधिसम्म सुदूरपश्चिम प्रदेशमा कुल ३ लाख ३८ हजार ४३२ मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। मतदान गर्नेहरूमा महिलाको संख्या पुरुषको तुलनामा केही बढी देखिएको छ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, डडेल्धुरा, बझाङ, बाजुरा, डोटी, दार्चुला र बैतडी लगायत सबै नौ जिल्लामा मतदान शान्तिपूर्ण रूपमा जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ मतदान भइरहेको छ। बिहानैदेखि धेरै मतदान केन्द्रहरूमा मतदाताहरूको उल्लेखनीय उपस्थिति देखिएको छ भने कतिपय स्थानमा लामो लाइनसमेत देखिएको छ।
निर्वाचन आयोगका अनुसार सुरक्षा व्यवस्था कडा बनाइएको छ र मतदान प्रक्रिया सहज रूपमा सञ्चालन भइरहेको छ। मतदान कार्य साँझ ५ बजेसम्म जारी रहने आयोगले जनाएको छ।
