बर्दिवास, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकास्थित प्रेमनगरमा दुई पक्षबीच तीव्र विवाद भएपछि मतदान प्रक्रिया स्थगित भएको छ। मतदान केन्द्रमा तनाव सिर्जना भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निर्वाचन अधिकृतको कार्यालयले मतदान रोकेको हो।
स्थानीय प्रशासनका अनुसार विवादको बीउ एउटा ‘नक्कली प्रयास’ बाट सुरु भएको थियो। एउटै व्यक्तिले पटक-पटक मतदान गर्ने प्रयास गरेपछि त्यहाँ उपस्थित अन्य दलका प्रतिनिधि र मतदाताहरूले बिरोध गरेका थिए।
“एउटै व्यक्तिले बारम्बार मत खसाल्न खोजेपछि दुई पक्षबीच भनाभन सुरु भयो, जसले उग्र रूप लिँदा स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि मतदान स्थगित गरिएको हो,” महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए।
विवादपछि उक्त क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। मतदान पुनः सुचारु गर्नका लागि निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दलका प्रतिनिधिहरूबीच छलफल भइरहेको बुझिएको छ। मतदान स्थगित भएपछि लामो समयदेखि लाइनमा बसेका सर्वसाधारणहरू अन्योलमा परेका छन्।
प्रहरीले स्थिति सामान्य बनाउने प्रयास गरिरहेको र दोषीमाथि छानबिन हुने बताएको छ। मतदान आजै सुरु हुने वा अर्को मिति तय गरिने भन्नेबारे आधिकारिक निर्णय आउन बाँकी छ।
