मलङ्गवा । सर्लाहीको बलरा नगरपालिका–४ स्थित मतदान केन्द्रमा केही समय अवरुद्ध भएको मतदान पुन: सुचारु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिकामा पर्ने उक्त केन्द्रमा दुई पक्षीय विवादका कारण मतदान रोकिएको थियो।
विवादको मुख्य कारण: बलरा–४ स्थित श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा रास्वपा उम्मेदवार अमरेशकुमार सिंह पुगेपछि विवाद सुरु भएको थियो। विपक्षी दलका कार्यकर्ताहरूले सिंह केन्द्रमा आएपछि विवाद सिर्जना भएको आरोप लगाएका छन्। दुई पक्षका कार्यकर्ताहरूबीच भनाभन र तनाव बढ्दै गएपछि स्थिति नियन्त्रण बाहिर जाने देखिएपछि मतदान प्रक्रिया स्थगित गरिएको थियो।
सुरक्षा निकायको हस्तक्षेप: स्थितिलाई सामान्य बनाउन सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सहितको टोली घटनास्थल पुगेको थियो। सुरक्षा निकाय र स्थानीय प्रशासनको समन्वयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरी विवाद मिलाइएको हो।
“अहिले विवाद समाधान भइसकेको छ र मतदान प्रक्रिया पुनः सुचारु भएको छ,” स्थानीय प्रशासनले जानकारी दिएको छ।
पहिले पनि तनाव: यसअघि आजै बलरा नगरपालिका वडा नम्बर १ मा पनि केही समय तनावको स्थिति सिर्जना भएको थियो। जिल्लाका केही संवेदनशिल क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरीले जनाएको छ।
