काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) साह सवार हेलिकोप्टर सुरक्षा चुनौतीको कारण देखाउँदै बीच बाटोबाटै काठमाडौं फिर्ता भएको छ । झापामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुन उडेको सो हेलिकोप्टरलाई सुरक्षा निकाय र निर्वाचन अधिकारीहरूको “अनुरोध” पछि फर्काइएको हो ।
बालेनको सचिवालयका अनुसार झापाका लागि उडान भरेलगत्तै सुरक्षा संवेदनशीलता र निर्वाचनको वातावरणमा खलल पुग्न सक्ने सन्देश आएपछि हेलिकोप्टर फर्काइएको हो । बालेनका निकट सहयोगी कुमार बेनले निर्वाचन आयोगबाट पूर्वस्वीकृति लिएरै उडान भरेको भए तापनि अप्रत्याशित परिस्थिति आएको बताए ।
“हामीले हिजै निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमति लिइसकेका थियौं । तर, उडान भइसकेपछि सुरक्षाको इस्यूले गर्दा अवतरण नगरिदिनु होला, निर्वाचनमा समस्या पर्न सक्छ भन्ने अनुरोध आयो । हामी तनाव निम्त्याउने पक्षमा नरहेकाले बीचबाटै फर्किएका हौं,” बेनले जानकारी दिए ।
बालेन हेलिकोप्टर चढेर झापा आउन लागेको सूचना पाएलगत्तै नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरूले निर्वाचन कार्यालयमा उजुरी दिएका थिए । एमाले पक्षले निर्वाचन आचारसंहिता विपरीत हेलिकोप्टर प्रयोग गरिएको दाबी गर्दै आएको छ ।
यद्यपि, बालेनको सचिवालयले भने कानुनी प्रक्रिया पुर्याएरै उडान गरिएको दाबी गरेको छ । झापामा बालेनको उपस्थितिले चुनावी सरगर्मी र सम्भावित मुठभेडको स्थिति सिर्जना हुन सक्ने आँकलन गरेपछि सुरक्षा निकायले सावधानी अपनाउन सुझाव दिएको बुझिएको छ ।