२१ फागुन, काठमाडौं । आज देशभर प्रतिनिधि सभा निर्वाचनका लागि उत्साहपूर्ण मतदान भइरहेको छ । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा पूर्व मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौं निर्वाचन क्षेत्र नं. २ स्थित आफ्नो मतदान केन्द्रमा मतदान सम्पन्न गरेका छन् ।
काठमाडौंमा आफ्नो मताधिकार प्रयोग गरेलगत्तै बालेन झापातर्फ प्रस्थान गर्ने तयारीमा छन् । सुरक्षा स्रोतका अनुसार उनी माउन्टेन एअरको हेलिकप्टर मार्फत झापा जान लागेका हुन् । केहीबेरमै उनी त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।
यो पटकको निर्वाचनमा सबैको नजर झापा निर्वाचन क्षेत्र नं. ५ मा टिकेको छ । सोही क्षेत्रबाट बालेनले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । झापा-५ एमाले अध्यक्ष केपी शर्मा ओलीको बलियो गढ मानिन्छ, जहाँबाट उनी पटक-पटक निर्वाचित हुँदै आएका छन् ।
पूर्व मेयर बालेन र पूर्व प्रधानमन्त्री ओलीबीचको यो प्रतिस्पर्धालाई नेपाली राजनीतिमा ‘पुस्तान्तरणको लडाइँ’ का रूपमा हेरिएको छ । रास्वपाले बालेनलाई आफ्नो भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेकाले पनि यो निर्वाचन क्षेत्रको नतिजा राष्ट्रिय राजनीतिका लागि निर्णायक हुने अनुमान गरिएको छ । दुई प्रभावशाली नेताहरूको भिडन्तका कारण झापा-५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बालेन आफ्नो निर्वाचन क्षेत्रमा पुगेर त्यहाँको मतदान प्रक्रियाको अवलोकन गर्ने र आफ्ना समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
