काठमाडौं । आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विषयमा भ्रामक अफवाह फैलाएको आरोपमा प्रहरीले ज्योतिषी पण्डित रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अधिकारीलाई चन्द्रागिरीबाट नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार अधिकारीले सामाजिक सञ्जाल (युट्युब) मार्फत ‘फागुन २१ गते निर्वाचन हुँदैन’ भन्दै भिडियो सन्देश सार्वजनिक गरेका थिए। “निर्वाचनको मुखमा ‘अनिष्ट हुने’ र ‘चुनावै नहुने’ जस्ता उत्तेजित र भ्रामक अभिव्यक्ति दिएर सर्वसाधारणमा अन्योल सिर्जना गरेपछि उनलाई पक्राउ गरिएको हो,” एसपी भट्टराईले जानकारी दिए।
प्रहरीले अधिकारीमाथि निर्वाचन बिथोल्ने गतिविधि र अफवाह फैलाएको कसुरमा अनुसन्धान अघि बढाएको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै पछिल्लो समय सामाजिक सञ्जालमा गरिने यस्ता गतिविधिलाई प्रहरीले कडा निगरानीमा राखेको छ।
फागुन २१ गते देशभर एकैचरणमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ, जसका लागि सुरक्षा व्यवस्था कडा पारिएको र सीमा नाकाहरू समेत बन्द गर्ने प्रक्रिया सुरु भइसकेको छ।
